आवर पीसल्याण्ड एकेडेमीको अभिभावक तथा विद्यार्थीलाई अपिल


विश्वभर फैलिएको कोरोना भाइरसको कारण हाम्रा दैनिक तथा भावी योजनाहरु
प्रभावित भएको यस विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको ख्याल राख्नु पहिलो प्राथमिकता
हुन आएको छ । आफू सकुशल रहेमा स्थिति सामान्य बनेपछि पक्कै पनि आफ्ना गतिविधिहरु
अगाडि वढाउन सकिन्छ । यसै सन्दर्भमा आफ्ना बाबु नानीहरूको पढाईको बारेमा पनि
यहाँहरु पक्कैपनि चिन्तित हुनुहुन्छ । कठिन परिस्थितिलाई सहज बनाएर बुद्धिमतापूर्वक
अगाडि बढ्नु आजको आवश्यकता हो । आफ्ना बाबु-नानीहरूको पढाइ बिग्रियो भनेर चिन्ता
गर्नु भन्दा उत्तम उपाय के के हुन सक्छन्भनेर खोजी गरी कार्यान्वयन गर्ने सिलसिलामा
विद्यालयको तर्फबाट यथासम्भव सहयोग र सल्लाह प्रदान गरिने प्रतिबद्धता जाहेर गर्दछौं ।
हामीले सामान्य अवस्थामा बालबालिकाहरुलाई विद्यालय पठाएका थियौं । दिनभर
विद्यालयमा हुने, घरमा गएपछि पनि गृहकार्य हुने, गृहकार्य गरे नगरेको शिक्षकले हेर्ने हुँदा
पढाइलेखाइ सम्बन्धी जिम्मेवारी विद्यालयको धेरै थियो। तर हाल आएर सम्पूर्ण जिम्मेवारी
अभिभावकले लिनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ ।
विद्यालयको तर्फबाट विभिन्न अभिभावक भेलाहरुमा पनि अभिभावकहरुले आफ्ना
बालबालिकाहरुलाई स्तरअनुसार संस्कार सिकाउने, घरमा गरिने विभिन्न कामहरुमा
सहभागी गराउने, सहयोगको भावनाको विकास गराउने, जीवनमा आइपर्ने दुख कठिनाइलाई
कसरी सामना गर्ने भन्ने कुराको अनुभूति गराउन प्रयास गर्ने जस्ता विषयमा छलफल गर्ने
गरिएको यहाँहरुलाई विदितै छ । अहिले आएर अभिभावकहरूले साँच्चै नै यस्ता
क्रियाकलापहरू गराउनको लागि उपयुक्त समय आएको छ । हामीले अझै पनि दाबीका
साथ भन्दछौं कि यदि यहाँहरुले आफ्ना नानीबाबूहरुलाइ राम्रो संस्कार, आनी(बानी, बोलीचाली, व्यवहार, जीवनमा काम लाग्ने र घरमा सम्भव हुने सीपहरु सिकाउनुहुन्छ, उनीहरूको
मस्तिष्कलाई ताजा र सिर्जनशील बनाई राखिदिनु हुन्छ भने पढ्ने( लेख्ने विषयमा आज
पनि धेरै चिन्ता गर्नु पर्दैन । विद्यालयमा आउने वातावरण बनेपछि अवश्यपनि हामीले
क्षतिपूर्ति सहित जिम्मेवारी पूरा गर्नेछौं तर बालबालिकामा खराब बानीको विकास,
अव्यवहारिक, असहयोगी, अशिष्टता जस्ता लक्षणहरु देखिए भने किताब पढेर त्यसको
क्षतिपूर्ति कदापी हुन सक्दैन ।त्यसैले यहाँहरूको काँधमा आएको महत्त्वपूर्ण जिम्मेवारीलाई
गम्भीरतापूर्वक लिनुहुनको लागि हार्दिक अपिल गर्दछौं ।
बालबालिकाहरुलाई सधैभरी पाठ्यपुस्तक, गृहकार्य आदिले थिचिरहेको र वैशाख महिनामा
पाठ्य-सामग्रीहरूको व्यवस्थापन, नयाँ कक्षाको पढाइ सुरु हुने समय भएकोले त्यति साह्रै
बिग्रिसकेको अवस्था होइन भनी सानो कक्षाका बाबु नानीहरूको सन्दर्भमा हामी पनि त्यति
हतारिएका थिएनौ तर लकडाउन बढ्दै गइरहेको अवस्थामा हामीले अभिभावकहरूको
सहायताले विद्यार्थीहरुले घरमा पठन पाठन सम्बन्धी केही न केही क्रियाकलापहरु गरून्
भन्ने आशयका साथ सकेसम्म किताब बिना नै घरमा बसी गर्न मिल्ने क्रियाकलापहरूको
सूची तयार पारी पठाउने जमर्को गरेका छौं । धेरै सानो कक्षामा यहाँहरूको पूर्ण सहयोगको
अपेक्षा गरेका छौं भने माथिल्ला कक्षाहरूमा पनि विद्यार्थीको सहायताले आफैले समेत गर्न
भनिएको कार्य बुझी आवश्यक सहयोगको पूर्ण आशा गरेका छौं । दिइएका कृयाकलापहरुलाई
हेरी त्यस्तै प्रकृतिका कामहरू आफैले थप गरी गराउनु हुन तर एकै दिनमा धेरै क्रियाकलाप
नगराउनु हुन आग्रह गर्दछौं । विद्यार्थीले यस समयमा थोरै तर रमाई रमाई प्रभावकारी रुपमा
काम गरुन्भन्ने अपेक्षा गरिएको छ। नतिजा प्रकाशन नभए पनि प्रायः सबै विद्यार्थी माथिल्लो
कक्षामा जान योग्य भएको ठानी एक तह माथिको कक्षा जस्तै २०७६ मा नर्सरी को जाँच
दिएका विद्यार्थीहरु एल.के.जी.का हुन् भन्ने मानी सोही अनुसार क्रियाकलापमा संलग्न
गराउनु हुन अनुरोध गर्दछौं । गृहकार्यलाई अझै व्यवस्थित पार्नको लागि कक्षागत रुपमा
मेसेन्जर ग्रुप (Messenger Group) तयार पारी अगाडी बढ्नु पर्ने भएकोले
अभिभावकको नाम, बिद्यार्थीको नाम र २०७७ मा पढ्ने कक्षा (नयाँ) आफ्नो आधिकारिक
फेसबुक आइ डि मार्फत विद्यालयको आधिकारिक फेसबुक पेज (Our Peaceland Academy नामको)
(www.facebook.com/OurPeaceland) मा पठाउनु हुन अनुरोध गर्दछौं । साथै
विद्यालयका सूचना तथा गतिविधिहरुको सहज जानकारीका लाजि विद्यालयको आधिकारिक
फेसबुक पेज लाइक (Like) गर्नुहुनको लागि आग्रह गर्दछौं । थप जानकारीका लागि
विद्यालयको सूचनापाटी (१६१८ ०७१५४८०२१) र आधिकारिक फेसबुक पेजमा गइ हेर्नुहुन
वा फोन सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
प्रार्थी
आवर पीसल्याण्ड एकेडेमी परिवार

द्रष्टव्य

कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले कक्षागत रुपमा दिइएको गृहकार्य साथैआफ्नो अक्षर राम्रो
बनाउनको लागि दिनको एक पेज नेपाली र एक पेज अंग्रेजी (कुनैपनि किताबबाट) हस्तलेखन
अनिवार्य रुपमा गर्नुपर्नेछ । ६ देखि १० सम्मका विद्यार्थीहरुले कुनै सजिलो शिर्षक आफैले छानेर नेपाली वा अंग्रेजीमा कम्तीमा एक पेज मिति समेत राखी लेख्नुपर्नेछ । दिइएको गृहकार्य हेरी दिनदिनै भनिएकोलाई दैनिक रुपमा र अन्य लाई बाँडेर आफूलाई धेरै बोझ नहुनेगरी अंग्रेजीमा भएकोलाई आफ्ना अभिभावक हरुलाई नेपालीमा राम्रोसँग बुझाइ आवश्यक सहयोग लिँदै गर्नुपर्नेछ । आफ्नो तह र रूचिसंग मिल्ने भएमा अन्य कक्षालाई दिइएको बाट समेत गर्न मिल्नेछ । विद्यालयमा आएपछि गृहकार्य परीक्षण गर्दा प्रत्येक कक्षामा सबैभन्दा राम्रोसँग गृहकार्य गर्ने विद्यार्थीलाई विशेष कार्यक्रममा पुरस्कृत गरिनेछ ।

धन्यवाद !



OPA
STAY HOME ! STAY SAFE !
Please check the homework given for students to utilize their leisure time in lockdown in our facebook page or click the link below !
             

Like Our Facebook Page

Subscribe Our Youtube Channel

Download OPA Android App